के बिस्केट जात्रा र विक्रम संवतबीच सम्वन्ध छ?

वैशाख संक्रान्ति अर्थात मेष संक्रान्तिलाइं नेवार संस्कृतिमा एक पर्वको रूपमा मनाइन्छ । यस दिन उपत्यकाका धिनाच्व, सिच्व, र पूmच्व डाँडाहरू चढ्ने र मेला भर्न जाने गरिन्छ । यही दिन चिराइतो राखी बनाइएको खाई क्वाति (तीतो क्वाँटी) खाने चलन पनि छ । त्यस्तै मकर संक्रान्ति पनि नेवारहरू क्वाँटी, घिउ, चाकु र पालुंगो खाई महत्वका साथ मनाउँछन् । यी दुई संक्रान्तिहरू (नेपालभाषामा खाई संल्हु र हाम्वः संल्हु) बाहेक नेवारहरू वर्षभरिका सम्पूर्ण परम्परागत चाड, पर्व, जात्रा, उत्सवहरू चन्द्रमासको तिथि अनुसार मनाउ“छन् । नेपालमा विक्रम संवत भित्रिनु अघिदेखि नैं संक्रान्ति, पूर्णिमा, अष्टमी आदि मनाउने गरेको कुरा पा“चौं शताब्दीका लिच्छविकालीन अभिलेखहरूबाट थाहा पाइन्छ ।

मेष संक्रान्तिलाई केन्द्र बनाएर मनाइने बिस्केट जात्रा सौर्य मास पात्रो अनुसार मनाइन्छ । बिस्केट जात्रालाई विक्रम संवत्‌सँग जोडेर विक्रम संवत् अनुसारको नव वर्षको उपलक्ष्यमा गरिने जात्रा भनेर पनि प्रचार गरेको पाइन्छ । बिस्केट जात्रा र विक्रम संवत्बीच के कस्तो सम्वन्ध छ ? के विक्रम संवत्को उदय सँगसँगै बिस्केट जात्राको उदय भएको हो ? अथवा विक्रम संवत् र बिस्केट जात्रा एकै व्यक्तिले एकै समय चलाएका हुन ? यी प्रश्नहरूको उत्तर खोज्न आवश्यक देखिन्छ ।

प्रथमतः प्राचीन ऐतिहासिक घटनावलीहरू र अभिलेखहरू हेर्दा पहिले पहिले बिस्केट जात्रा सौर्यमासको पात्रो अनूसार नभई चन्द्रमासको पात्रो अनुसार मनाइने कुरा ज्ञात हुन्छ । मल्लकालको मध्यतिर पनि बिस्केटमा भक्तपुरमा लिङ्गो उठाउने र भैरवको रथ तान्ने जात्रा समेत चैत शुक्ल पूणिमाको दिन गर्ने गरिन्थ्यो । नेपाल राष्ट्रिय अभिलेखालयस्थित हस्तलिखित ग्रन्थ लगत नं १६९६, माइक्रोफिल्म नं ए ३०१ को १२ को पृष्ठ संख्या २ मा ७४१ चैत शुक्ल पूर्णिमाको दिन भैरवको रथ भाँचेको र लिङ्गो ठड्याइ पूजा गरेको कुरा वर्णित छ । *

बिस्केट जात्राको सम्वन्धमा एक प्रचलित किम्वदन्ति अनुसार लिच्छवि राजा शिवदेवको पालामा पूर्वतिरबाट किरातहरूले हमला गर्दा शेखर आचाःजु नाम गरेका एक पुरोहितले हजारौं बाघको रूप लिई तिनीहरूलाई धपाए । आफ्नो पति बाघ हुन सक्ने कुरा सुन्दा अचम्मित भएका शेखर आचाःजुकी पत्नीले खाफ्नो पति अजिंगर भएको इच्छा प्रकट गरिन् । पत्नीको इच्छा नकार्न नसकी शेखर आचाःजुले पत्नीलाई तन्त्र मन्त्र गरी एक मुठी अक्षता दिंदै भने —म अजिंगरको रूप लिन्छु, तिमी नडराई हेरेर हेर्न पुगेपछि यहि अक्षताले हान्नु । यति भन्दै शेखर आचाःजु अजिंगर बने । अजिंगरको भयंकर रूप देखेपछि उनकी पत्नी त्यस ठाउँ छाडेर भागिन । अजिंगर बनेका शेखर आचाःजु पनि पत्नीले अक्षता हान्छिन् कि भनी उनको पछि पछि लाग्न थाले । भीमकाय अजिंगरले आफ्नो पिछा गरेको देखेर अतालिएर उक्त अक्षता मुखमा हालिन । पछि उनी पनि अजिंगर भए । दुबै पति पत्नी अजिंगर विरक्त भई आत्महत्या गरे । पछि यो कुरा शिवदेव राजाले थाहा पाई यिनीहरूको सम्मान स्वरूप यिनीहरूको सम्झनामा दुबै अजिंगरको लाश लिङ्गोमा झुण्ड्याई बिस्केट जात्रा मनाए भनिएको छ ।

यो किंवदन्तिलाई विश्वास गर्ने नगर्ने भन्ने आफ्नो ठाउँमा छँदैछ र विश्वास नैं गरिए पनि यहाँ भनिएका शिवदेवको बारे पनि जान्न जरूरी छ । नेपालको इतिहासमा देखापर्ने तीन जना शिवदेव राजा मध्ये यहाँ भनिएका शिवदेव दि्वतीय हुन भनिन्छ । यिनै शिवदेवले विक्रम संवत् चलाई बिस्केट जात्रा चलाए भन्नेहरू पनि छन् । शिवदेव द्वितीयको ६९० ई. देखि ७१४ ई. सम्मका शिलालेखहरू भेटिएका छन् । यस हिसाबले शिवदेव द्वितियले विक्रम संवत् चलाए भन्नु हास्यास्पद देखिन्छ । नेपालको ऐतिहासिक रूपरेखा पुस्तकमा लेखकले अंशुवर्मा विक्रम संवत्का प्रणेता विक्रमादित्य हुन ? भन्ने प्रश्न खडा गरेका छन् । विक्रम संवत्का प्रणेता भारतको उज्जैन शहरमा जन्मेका विक्रमादित्यलाई मानेको पाइन्छ तर लेखक प्रणय पासा भने यसलाई स्वीकार्दैनन् । भाषा वंशावलीमा राजा विक्रमादित्यको वर्णन पाइन्छ तर यही वंशावलीमा बिस्केट जात्राको प्रचलन जगज्योति मल्लले चलाएको कुरा उल्लेख छ ।

माथिका सम्पूर्ण कुराहरूबारे अनुशीलन गर्दा विक्रम संवत् र बिस्केट जात्रा एकै व्यक्तिले चलाएको होइन भन्ने थाहा हुन्छ साथै विक्रम संवत् र बिस्केट जात्राको शुरूवात पनि एकै समय होइन भन्ने पनि जानकारी हुन्छ । नेपाल संवत्को तिथि अनुसार मनाइने भएकोले र बिस्केट जात्रा सम्वन्धी घटनावली र अन्य अभिलेखहरूमा मिति उल्लेख गर्दा विक्रम संवतको उल्लेख कतै नहुनुले पनि बिस्केट जात्राको सम्वन्ध विक्रम संवत्सँग नभएको थाहा हुन्छ । पहिले लिङ्गो ठड्याउने र ढाल्ने मात्र गर्ने जात्रामा अन्य जात्राहरू थपे जस्तै पछि मात्रै बिस्केट जात्रा मनाउने तिथिमा पनि फेरबदल भएको स्पष्ट छ । यसको कारक तत्व धार्मिक ग्रन्थहरूको प्रभाव भएको आभाष हुन्छ । गौतमी पुराण र मनुको वचनमा चैत मसान्तको दिन ध्वजोत्थान गर्दा दुःख विनास भई सबै शत्रु क्षय हुन्छ र वैशाख संक्रान्तिको दिन ध्वज ढाल्ने गरेमा शत्रु नाश हुने कुरा उल्लेख छ । यहि गौतमी पुराण र मनुको वचन अनुसार चैत मसान्तको दिन लिङ्गो ठड्याउने र संक्रान्तिको दिन लिङ्गो ढाल्ने गरेको देखिन्छ । अतएव बिस्केटलाई विक्रम संवत्सँग जोड्नु प्रयास मात्र हो भन्नु युक्तिसंगत देखिन आउँछ ।

* यो घटना सहितको घटनावली बारे विस्तृत अध्ययन र विश्लेषणको लागि हेर्नुहोस् – चुन्दा वज्राचार्य, मध्यकालया छुं घटनावली छगू अध्ययन, (काठमाडौं : काशीनाथ तमोट, ने.सं. ११०५)

यस लेखांश सन् २००६ मा प्रकाशित मेरो पुस्तक “संस्कृतिभित्र..” बाट साभार गरिएको हो । यस पुस्तक खरिदको लागि यस साइटमा उपलव्ध छ ।
तश्वीर – मिलन अधिकारी

Comments